ताजा अपडेट »

निजी विद्यालयको अटेरी, रुपन्देहीको गैडहवामा पठन-पाठन सञ्चालन

मंगलबार, १४ बैशाख २०७८, १६ : २३
2 Shares

भैरहवा । बढ्दो कोभिडको महामारीलाई हेर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सबै प्रकारका शैक्षिक गतिविधि बन्द गर्न निर्देशन दिएको छ । विद्यालयमा भौतिक रुपमा उपस्थित भएर कुनै पनि क्रियाकलाप नगर्न प्रशासनले दिएको निर्देशन गैडहवा गाउँपालिकाका संस्थागत विद्यालयहरुले ठाडो उल्लंघन गरेका छन् ।

निर्देशन विपरीत गैडहवाका संस्थागत विद्यालयहरुले कक्षा ८ र कक्षा १० को परीक्षा सञ्चालन रोकेका छैनन् । प्याब्सन गैडहवाको आन्तरिक निर्णय भन्दै विद्यालयहरुले बिद्यार्थीलाई विद्यालयमै बोलाएर परिक्षा सञ्चालन गरि रहदा अनुगमन गर्ने निकाय मौन बसेको छ ।

विद्यालयमै रहेको अवश्थामा तिलोत्तमाको प्यारामाउण्ट बोर्डिङ्ग स्कूलमा छात्राको मृत्यु पछि गम्भिर हुदै प्रशासनले सबै विद्यालयलाई शैक्षिक गतिविधि रोक्न निर्देशन गरेको थियो । निर्णय गरे पनि यसको कार्यान्वयन भने ज्यादै फितलो रहेको छ । निर्णय मात्र गरेको र अनुगमन नगर्दा संस्थागत विद्यालयहरुले निर्वाध पठनपाठन सञ्चालन गरेका छन् ।

रिपोर्टिङ्गकै क्रममा ग्लोबल आवाजका सम्वाददाता गैडहवाको सूर्यपुरामा रहेको सिद्धार्थ प्रतिभा हाई स्कूलमा पुग्दा त्यहा परीक्षा सञ्चालनमा रहेको थियो । कक्षा ८ र १० को परीक्षा लिई रहेको विद्यालयले बन्द रहेको जानकारी भए पनि अन्तिम अवस्थामा परीक्षा लिएको दावी गरेको थियो । विद्यालयका प्रधान अध्यापक वृजेश हरिजनले गैडहवा प्याब्सनले परीक्षा सञ्चालन गर्ने निर्णय अनुसार नै सबै विद्यालयमा परीक्षा भई रहेको जानकारी दिए । परिक्षा सञ्चालन गर्दा भौतिक दुरी राखेर मात्रै सञ्चालन गरिएको उनले दावी गरे ।

यस विषयमा गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी घिमिरेलाई बुझ्दा उनले गाउँ स्तरिय बिपद ब्यवस्थापन बैठकले पनि भौतिक उपस्थितिमा गरिने क्रियाकलाप नगर्न निर्णय गरेको जनाए । उनले अनुगमनको क्रममा केही संस्थागत विद्यालयहरुले विद्यालय खोलेको पाईएकोले विद्यार्थीलाई केही भए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित विद्यालयले नै ब्यहोर्नु पर्ने गरि फेरी पत्राचार गरिएको बताए । यतिले पनि नमाने गाउँपालिकमै दर्ता रहेका विद्यालयहरुको दर्ता खारेजी सम्मको प्रक्रियामा गाउँपालिका पुग्ने उनले दावी गरे ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा