ताजा अपडेट »

टी–१० क्रिकेट : तिलोत्तमा र लुम्बिनी सेमिफाइनलमा

सोमबार, १३ बैशाख २०७८, २२ : १७
6 Shares

भैरहवा । तिलोत्तमा क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवामा जारी स्टडील्याण्ड टी–१० क्रिकेट प्रतियोगिताको सेमिफइनलमा प्रवेश गरेका छन् । सोमबार तिलोत्तमाले तिरुपति क्रिकेट क्लबलाई १५ रन र लुम्बिनी खुकुरीले प्रोफेसनल मास्टर्स–११ लाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् । सिद्धार्थ रंगशालमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको तिलोत्तमाले ४ विकेटको क्षतिमा ९९ रन बनायो । उसका लागि कृष्ण कार्कीले ३५, संदीप केसीले नटआउट ३३ र मनोज सुनारले २८ रन जोडे । बलिङमा तिरुपतिका अमृत गुरुङ, बसिर अहम्मद र तुलबहादुर थापाले १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको तिरुपति ५ विकेटको क्षतिमा ८४ रनमै रोकियो । उसका लागि अजय कौशिल्याले ३०, तुलबहादुर थापाले १७ र बसिर अहम्मदले १६ रन जोडे । बलिङमा तिलोत्तमाका कृष्ण पराजुलीले ३, मनोज सुनार र यम क्षेत्रीले १/१ विकेट लिए । कृष्ण पराजुली म्यान अफ द म्याच भए । दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले ६ विकेटको क्षतिमा ५४ रन बनायो । उसका लागि प्रमिश थापाले नटआउट १६ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । बलिङमा लुम्बिनी खुकुरीका साहव आलमले ३, सन्तोष यादव, अजय लोनिया र रोशन थामीले १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेके लुम्बिनी खुकुरीले ७ ओभर १ बलमा ३ विकेटको क्षतिमा ५८ रन बनाउँदै जित निकाल्यो । उसका लागि शंकर रानाले १९, संदीप रजालीले नटआउट १८ र निश्चल चौधरीले १५ रन बनाए । बलिङमा प्रोफेसनलका अनिल जैसवालले २ तथा सिजन मकाजुले १ विकेट लिए । साहव आलम म्यान अफ द म्याच भए । मंगलबार मेमिफाइनलमा न्यू होराइजन क्रिकेट क्लब र लुम्बिनी खुकुरी तथा गोर्खा वारियर्स र तिलोत्तमा क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब (एमसीसी)ले जनाएको छ ।

प्रतियोगितामा विजेता टिमले नगर ५० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरीजले १० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले समान ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी बेष्ट क्याच र बेष्ट सिक्सेसले दुई हजार ५ सय रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

https://www.globalaawaj.com/archives/101533
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।