ताजा अपडेट »

त्रिदेशीय टी-२० क्रिकेट : नेपालद्वारा २३९ रनको लक्ष्य प्रस्तुत

शनिबार, ११ बैशाख २०७८, १५ : १३
12 Shares

बुटवल । त्रिदेशीय टी–ट्वान्टी क्रिकेट शृङ्खलाको उपाधिका लागि नेपालले नेदरल्याण्डस्लाई २३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले कुनै पनि टिमलाई दिएको यो सर्वाधिक ठूलो लक्ष्य हो । यसअघि यो प्रारूपमा नेपालले भुटानलाई सर्वाधिक ठूलो लक्ष्य २३७ रनको लक्ष्य दिएको थियो । कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिला ब्याटिङ्ग थालेको नेपालले निर्धारित २० ओभरमा खेल्दै ३ विकेटको क्षतिमा २३८ रन बनाउन सफल भएको हो ।

नेपालका लागि ओपनर व्याट्स म्यान कुशल भुर्तेतलले ५३ बलको सामना गर्दै ३ छक्का र ८ चौकासहित ७७ रनको योगदान दिए । जारी सिरिजमा कुशलको यो चौथो अर्धशतक हो । योसँगै उनले डेब्यू सिरिजमै चार अर्धशतक बनाउने ब्याट्स्म्यानको कीर्तिमान समेत बनाएका छन् । त्यस्तै, कुशल मल्लले २४ बलमा दुई चौका र पाँच छक्कासहित अविजित ५० रनको योगदान दिए । कप्तान ज्ञानेन्द्र मल्ल ३३, आशिफ शेखले १६ रन बनाउँदा उपकप्तान दीपेन्द्रसिंह ऐरी ४८ रनमा अविजित रहे ।

बलिङमा फिलिप बोइसेभ्यानले दुई र सेबस्टियान ब्राटले एक विकेट लिए । नेपालले प्लेइङ ११ मा आज एक खेलाडी परिवर्तन गरेको छ । नेपालले सुशान भारीको स्थानमा अविनाश बोहरालाई स्थान दिएको छ । नेपालले यही सिरिजमा लगातार तीन म्याचमा दुई सयभन्दा बढीको लक्ष्य दिएको छ । नेपाली क्रिकेट इतिहासमा नेपाल टिमले लगातार तीन म्याचमा दुई सयभन्दा बढी रनको लक्ष्य दिएको पहिलो पटक हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।