ताजा अपडेट »

भूकम्पको छ वर्षमा बने छ लाख ३८ हजार ५४० घर

शनिबार, ११ बैशाख २०७८, १२ : १६
6 Shares

काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले भत्किएका करिब १० लाख घरमध्ये छ लाख ३८ हजार ५४० घर पुनःनिर्माण भएका छन् । छ वर्ष अघिको भूकम्पले घर भत्किएर समस्यामा परेका आठ लाख ११ हजार ७५४ घर धनीले पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको लाभग्राही सूचीमा समावेश भएर सम्झौता गरेका छन् । हालसम्म आठ लाख १० हजार ६३५ लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार बुझेका छन् । सात लाख चार हजार ४६७ लाभग्राहीले दोस्रो किस्ता वापत् रु एकलाख लिएका छन् । घर सम्पन्न गरेर छ लाख ३८ हजार ५४० लाभग्राहीले तेस्रो किस्ताको रु एक लाख ५० हजार लिएका छन् । चालु आर्थिक वर्षभित्र निजी आवास पुनःनिर्माणका मूलभूत काम सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ ।
गोरखा भूकम्पको छैटौँ स्मृति दिवसका अवसरमा प्राधिकरणले शुक्रबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनःनिर्माणका क्रममा छ लाख ३४ हजार ९७३ गुनासा आएकामा ती सबैको सम्बोधन गरिएको बताए । उनका अनुसार प्राधिकरणबाट भएको गुनासो सुनुवाईमा पनि चित्त नबुझेमा जिल्ला तहमै पुनरावेदन दर्ता गरी पुनरावेदन समितिमार्फत् समस्या समाधान गर्ने व्यवस्था मिलाइएको छ । विपन्न वर्गका लाभग्राहीहरुको घर पुनःनिर्माणमा प्राधिकरणले करिब ९०० घुम्ती डकर्मी र २५४ सामाजिक परिचालक परिचालनसहित विशेष अभियान अघि बढाएको छ । साझेदार संस्थालाई पनि यस कार्यमा परिचालन गरिएको छ । व्यापक अभियानका साथ जोखिम वर्गका लाभग्राहीको घर पुनःनिर्माण भइरहेको जनाइएको छ । भूकम्पपछि २९९ वटा असुरक्षित स्थानमा रहेका चार हजार ७२० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गाको व्यवस्था मिलाइएको छ । बारह हजार ७८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण सिर्जना गरिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सुनाए ।

रासस
लेखकको बारेमा
रासस