ताजा अपडेट »

माइती नेपालद्वारा १ सय ८७ जना चेलीको उद्वार

शनिबार, ११ बैशाख २०७८, १२ : ०८
4 Shares

भैरहवा । बेचबिखनको जोखिममा परेका चेलीबेटीहरुलाई उद्दार क्षेत्रमा काम गर्ने संस्था माईती नेपालले १ सय ८७ जना चेलीहरुको सीमानाकाबाट उद्दार गरेको जनाएको छ । बिभिन्न बहानामा भैरहवाको बेलहिया नाका हुदै भारत जान थालेका १ सय ८७ जनालाई उद्दार गरि प्रहरीलाई बुझाएको संस्थाले जनाएको छ ।शुक्रबार भैरहवामा संस्थाद्वारा आयोजित पत्रकार सम्मेलनमा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी कार्यक्रम संयोजक माया क्षेत्रीले सीमानाकाबाट मात्र नभई भारतका बिभिन्न स्थानबाट समेत १० जनालाई उद्दार गरेको जानकारी दिईन ।

यी मध्ये १ जनालाई मात्र मानव बेचबिखनको मुद्दा दर्ता गरेको उनले जानकारी दिईन। आर्थिक बर्ष २०७७/७८ मा ३६ वटा खोजतलाशको लागी निवेदन प्राप्त भएकोमा ११ जना फेला परेको र यो अवधिमा १० जनाले घरेलु हिंसा सम्बन्धि निवेदन दिएको क्षेत्रीले जानकारी दिईन । नेपाल भारत सिमामा सिमापार मानव बेचबिखनका तस्करीहरु रोक्नको लागी सिमा निगरानी कार्यक्रम अन्र्तगत यी गतिबिधि सम्पन्न भएको हुन् । अहिले पनि नेपालबाट बिभिन्न बहानामा ललाई फकाई नेपाली चेलीहरु बेलहिया नाका हुदै भारत हुदै तेश्रो मुलुक जाने क्रम तिव्र रहेको संस्थाको दावी छ ।

कतिपय आफन्तकै मिलेमतोमा त कहिले राम्रो काम र पारिश्रमिकको प्रलोभनमा चेलीहरु भारत तर्फ जाने गरेको माईती नेपालकी कार्यक्रम संयोजक क्षेत्रीले सुनाईन ।आफ्नो स्थापना कालदेखी नै महिला, बालबालिकाको बेचबिखन, हिंसा लगायत उनिहरु बिरुद्ध गरिने कुनै पनि प्रकारको हिंसालाई अन्त्य गर्न माईती नेपाल लागी परेको संस्थाको भनाई छ । महिला तथा बालबिालका बेचबिखन, असुरक्षित आप्रवासन, महिला हिंसा लगायतका घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ नेपालका बिभिन्न जिल्लाहरुमा १४ वटा आवधिक गृहहरु सञ्चालन गरि रहेको माईती नेपालकी माया क्षेत्रीले बताईन । यसै गरि सो संस्थाको २ वटा स्नेह गृह, १ वटा पुर्नस्थापना गृह, ३ रोकथाम गृह रहेको क्षेत्रीकोे भनाई छ ।

चेलीबेटी बेचबिखन रोकथाममा अझै पनि सब्र भन्दा ठूलो चुनौती नेपाल भारतको खुल्ला सीमा रहेको माईती नेपालको ठम्याई छ । दुवै देशको सिमामा निर्वाध रुपमा प्रवेश दिदा चेलीबेटी बेचबिखन नियन्त्रणमा समस्या रहेको क्षेत्रीको भनाई छ । यस्तै बेचबिखनका लागी दलालहरुको नया नया स्वरुप तथा शैलीहरु परिवर्तन गरिरहनु, महिला तथा बालबालिकाहरु माथी घरेलु हिंसा जस्ता समस्यामा कमी नहुनु अर्को चुनौतीको पाटो रहेको छ । सिमावर्ती शहरहरुमा नेटवर्किङ्ग कम्पनी, अर्केष्ट्रा जस्ता बैण्डहरु खोलिनु र मूख्य नाकाहरुमा सरकारी समयन्त्रबाट निगरानी नगर्नुले पनि चेलीबेटी बेचबिखनका घटना बढी रहेको परियोजनाको ठम्याई रहेको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रिय अध्यक्ष बिनोद पहाडीले बोल्दै नेपालमा उद्दार गरि ल्याइएका चेलीबेटीहरु राख्ने एउटै “सेफ हाउस” नहुनु दुखद रहेको बताए । उद्दार गरि ल्याईएका चेलीहरुलाई राख्नु परे सरकारले पनि माईती नेपाललाई नै गुहार्नु परेको अवश्था रहेको उनले बताए । यस्ता कार्यको गैर सरकारी संस्था भन्दा पनि राज्यले नै जिम्मा लिनु पर्ने र यसको लागि सञ्चारकर्मिहरुले सरकारलाई दबाब बनाउनु पर्ने उनको धारण थियो ।

रासस
लेखकको बारेमा
रासस