ताजा अपडेट »

नेपाली संगीत विश्व बजारमा छाउँदै छ :संगितकार सेञ्चुरी

शुक्रबार, ०६ असार २०७६, १४ : २४
4 Shares


आज विश्व संगीत दिवस संगीतसँग सरोकार राख्ने सम्पूर्ण संगीतकर्मी र संगीतप्रेमीहरुका लागि विशेष दिन । यो दिवश प्रत्येक वर्ष विश्वभर मनाइन्छ । नेपालमा पनि यस दिन विशेष कार्यक्रम गरी मनाइन्छ । त्यसैगरी विगत दुई दशकदेखि बुटवलबाट सांगीतिक क्षेत्रका नक्षत्र उत्पादन गर्दै आएको समग्र कलाकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बागेश्वरी संगीतालयले संगीत दिवशकै अवसरमा एक हप्तादेखि विशेष कार्यक्रम गर्दै आएको छ । यसै सन्दर्भमा रहेर जीवनको तीन दशक समय संगीत क्षेत्रमा खर्चेका अग्रज तथा वरिष्ठ संगीतकर्मी तथा बागेश्वरी संगीतालय, बुटवलका संस्थापक, प्राचार्य सुरेश सेञ्चुरीसँग ग्लोबल आवाजका लागि डि.बि.सुस्लिङले गरेको कुराकानी :

तपाइँको सिकाई,अनुभव र भाषामा संगीत के हो ?
संगीतलाई परिभाषा गर्न निकै गाह्रो विषय हो । यसको न त कुनै भूगोल हुन्छ न त भाषा धर्म नै । संगीत जीवन र जगतसँग जोडिएको हुन्छ । यसको कुनै निश्चित परिधी नभएको हुँदा, संगीत जीवन हो जस्तो लाग्छ ।

नेपाली संगीत बजारको वर्तमान अवस्था कस्तो छ ?
नेपाली संगीत विकासको क्रमलाई हेर्ने हो भने सुरुवातमा प्रविधिको विकास भइसकेको थिएन, संगीतमा सबैको पहुँच कम थियो । जब सञ्चार माध्यम तथा प्रविधिहरुको विकास हुँदै गयो नेपाली संगीतमा उल्लेख्य परिवर्तन आयो । बीचको समय नेपाली संगीत केही अल्मलिएको अवस्था थियो । संगीतप्रति कलाकारहरुको निराशा बढ्दो थियो । अहिले आएर त्यो अवस्थामा व्यापक परिवर्तन आएको छ । मेहनत गर्न सक्यौं र जनजीवनमा आधारीत रहेर सिर्जना गरिएका संगीतले राम्रो बजार पाउँदछ भन्ने कुरा कलाकारहरुले प्रप्रमाणित गरेका छन् । संगीत बुझेका र संगीतलाई आम जनजीविकासँग जोड्ने कलाकारहरु बाँच्नका लागि त्यति गाह्रो छैन । नेपाली संगीतले विश्व बजारमा पनि प्रभाव बढाउँदै लगेको छ ।

समाज परिवर्तन र विकासमा संगीतको कस्तो भूमिका रहन्छ होला ?
विश्वमा जती पनि परिवर्तन र क्रान्तिहरु भएका छन्, त्यहाँ संगीतको महत्वपूर्ण भूमिका रहेका इतिहासहरु छन् । नेपाली क्रान्तिमा पनि संगीतको माध्येमबाट धेरै परिवर्तनहरु भए । नेपालका राजनीतिक दलहरुले पनि त्यो कुरालाई आत्मसाथ गर्दै संगीतकै माध्यमबाट भएको क्रान्तिले नेपालमा यो परिवर्तन हुन सकेको हो । संगीतले जीवन र जगतको परिभाषा बोल्दै मानवलाई भीत्रैदेखि जागरुक र भावनात्मक बनाउन सहयोग गर्दछ । त्यसैले पनि समाज परिवर्तनको महत्वपूर्ण श्रेय संगीतलाई जान्छ ।

नेपाली संगीतमा विदेशी संगीतको प्रभाव कस्तो पाउनुभएको छ ?
यो विश्वव्यापिकरणको समय हो । विदेशी संगीत र उनीहरुको नक्कल नेपाली संगीत बजारमा पक्कै पनि सकारात्मक तथा नकारात्मक दुबै रुपमा प्रभाव पारेको छ । नेपाली सँगीतको विकास र प्रविधिको प्रयोगमा नयाँ शिक्षा दिने काम विदेशी सँगीतहरुले गर्दै आएको कुरालाई सकारात्मक नै लिनुपर्छ । तर, हाम्रो मौलिकता र परम्परा संगीतसँग अडेको छ, त्यसैले पनि नेपाली सँगीतको संरक्षण र विकास गर्नुपर्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।