ताजा अपडेट »

जाजरकोट–डोल्पा सडक : यसै महिनाभित्रै पूर्णता पाउने

बुधबार, ०४ असार २०७६, २३ : १९
4 Shares

असार ४,

काठमाडाैं । डोल्पा– जाजरकोट–डोल्पा सडक आयोजना सडक विभागलाई हस्तान्तरण गर्न लागिएको छ । नेपाली सेनाले जिम्मा लिएको उक्त सडकले यसै महिनाभित्रै पूर्णता पाउने बताउँदै आयोजना नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत विभागलाई यसै महिना हस्तान्तरण गर्न लागिएकोे सेनाले जनाएको छ ।

जाजरकोटको पासागाडदेखि दुनैसम्मको ११८ किलोमिटर सडक आयोजना सफलतापूर्वक निर्माण पूरा गरेर आयोजना नै विभागलाई हस्तान्तरण गर्न लागिएको सडक निर्माण कार्यदल प्रमुख कर्णेल विश्वबन्धु पहाडीले जानकारी दिए । तत्कालीन विषम परिस्थिति र भौगोलिक विकटता भए पनि सरकारले सेनालाइ दिएको जिम्मेवारी पूरा गर्दै डोल्पालीको भाग्यरेखाका रुपमा रहेको उक्त सडक आयोजना पूरा गरी विभागलाई हस्तान्तरण गर्न लागिएको उनले बताए ।

उनले भने, ‘सडक निर्माणको क्रममा थुपै्र चुनौती व्यहो¥यौँ, विकासको मुख्य पूर्वाधारको रुपमा रहेको सडक निर्माणमा दिनरात खटिँदै ज्यान हत्केलामा राखेर सरकारले सेनालाई दिएको जिम्मेवारी पूरा गरेको छ ।’ अहिले सुँपानी–दुनै सडकखण्डको १४ दशमलव ३ किमी सडकको सुधार भइरहेको छ ।

सो खण्डमा पर्ने कालागौँडा भीर र लामालोटे भीरलगायत सात भीर छिचोलेर सुधार अन्तिम चरणमा पुगेको छ । यसै महिनाभित्र कार्य सम्पन्न गरिने कार्यदल प्रमुख पहाडीले बताए । आयोजनाको दुनैसम्मको ट्रयाक खुलाउने काम गत मंसिर ४ मा सम्पन्न भइसकेको छ ।

सुँपानी–दुनै खण्डको ट्रयाक खुलाउने काम तत्कालिन जिल्ला बिकास समिति खुलाइएको थियो ।यस खण्डको सडकको चौडाइ साँघुरो भएकाले सेनाले सुधार गरेको हो । डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्दै नेपाल, चीन र भारत जोड्ने त्रिदेशीय व्यापारिक नाकाका रुपमा विकास गर्न यो सडकको निर्माण थालनी गरिएको हो । रणनीतिक महत्व बोकेको सो सडक २०६५ सालमा जाजरकोटको पासागाडदेखि निर्माण शुरु गरेर डोल्पा सदरमुकाम दुनैसम्म सडक जोड्नका लागि काम थालनी गरिएको थियो । शुरुको दुई वर्ष रेखाङ्ककन विवाददका कारण निर्माण अवरुद्ध भएको थियो । रेखाङ्कन पुनःनिर्धारण भएपछि २०६६ सालदेखि निर्माणले तीव्रता पाएको थियो ।

जाजरकोट–डोल्पा सडक आयोजनाको दुनैसम्मको ट्रयाक खोल्ने कार्य पूरा गरेर गत मङ्सिर ४ गते त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने त्रिपुराकोट अर्निचौरमा सडक उद्घाटन गरिएको थियो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलद्वारा प्रधानसेनापति पूर्णचन्द्र थापा र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको उपस्थितिमा यातायात सञ्चालनमा ल्याएर सडकको उद्घाटन गरिएको थियो ।

‘डोल्पालीले सडक पुग्ला भनेर कल्पनासमेत गरेका थिएनन् तर सेनाले जिम्मा लिएर निर्माण कार्य पूरा गरेपछि दुनैसम्म नै जीप, ट्रयाक्टरलगायतका सवारी साधनहरु गुड्न थालेका छन्’, त्रिपुरासुन्दरी – १ का दुर्गाप्रसाद देवकोटाले भने । ‘नेपाली सेनाले जिम्मा नलिएको भए डोल्पासम्म मोटर पुग्ने सम्भावना नै थिएन, सडक पुगेपछि बजार भाउ सस्तिएर सर्वसाधारणलाई राहत मिलेको छ’, उनले थपे ।

एक दर्जन पुल आवश्यक

जाजरकोट–डोल्पा सडकको ट्रयाक खुलाउने काम सम्पन्न भए पनि पुल निर्माणको अभावमा खण्ड–खण्डमा यातायात सञ्चालन भइरहेको छ । जाजरकोट–डोल्पा सडकअन्तर्गत पर्ने राडीज्युला, तल्नुबगर, हरियापानी, सुँपानी, छलगाड, चुँगाड, रुपगाड लगायत एक दर्जन ठाउँमा पक्की मोटरेवल पुल निर्माण गर्न आवाश्यक छ । रकुम–जाजरकोट–डोल्पामा पर्ने उक्त स्थानमा चार झोलङ्गे पुल रहेका छन् ।

भेरी नदीमा मात्रै आवाश्यक छ पक्की पुलमध्ये रिम्ना र चिसापानीमा पुल निर्माण भइसकेकाले राडिज्युला, तल्लु, हरियापानी र सुँपानीमा चार पुल निर्माण गर्न अझै बाँकी छ । सडकलाई बीचमा पर्ने सानाठुला नदीले टुक्राइदिएकाले ठाउँठाउँमा गाडी परिवर्तन गरेर यात्रा गर्नुर्ने बाध्यता कायमै छ ।

‘कालोपत्रे र पुल बनाइदेऊ’

पहिलो चरणको ट्रयाक खुलाउने काम सेनाले सम्पन्न गरिसकेकाले सडकको स्तरउन्नतीकालागि डोल्पालीले सरकारसँग माग गरेका छन् । दोस्रो चरणमा कार्यअन्तर्गत पक्की पुल र कालोपत्रेका लागि आवश्यक बजेट व्यवस्थापन गरी काम थालनी गर्न सरकारसमक्ष डोल्पालीको माग छ । आयोजनाको पुल निर्माणलगायत कालोपत्रेसमेतको स्तरोन्नति कार्य तत्कालै थालनी गर्न सहजता होस् भनेर नै सडक हस्तारण गर्न लागिएको कार्यदल प्रमुख पहाडीले बताए ।

दुनै हुँदै उपल्लो डोल्पा धो, तिन्जे हुँदै तिब्बती नाका मोरिम जोड्ने सडकखण्ड निर्माणको जिम्मा पनि नेपाली सेनालाई दिइएमा छिटो सडक जोडिने डोल्पालीको विश्वास छ । आव २०७६÷७७ को नीति तथा कार्यक्रम र बजेटमा जाजरकोट–डोल्पा सडकको स्तरोन्नतिका लागि व्यवस्था गरी बजेट नछु्ट्याएको भन्दै डोल्पालीले असन्तुष्टि व्यक्त गरेका छन् ।

विगतमा छिञ्चु–जाजरकोट सडकखण्डको ट्रयाक खोल्ने कार्य सेनाले पूरा गरेसँगै विश्व बैंकको सहयोगमा सरकारले सो सडकमा पुल निर्माण र कालोपत्र गर्ने कार्य सम्पन्न गरेको थियो । सोहीअनुसार नै जाजरकोट–डोल्पा सडकको पुल निर्माण र कालोपत्रे गर्ने काममा आवश्यक बजेट व्यवस्थापनमा ध्यान पु¥याइनुपर्ने माग गरिएको छ । तत्कालीन सशस्त्र द्वन्द्वका समयमा सल्ली बजारमा प्रथम पटक निर्माण आधार खडा गरेर अगाडि बढ्दै सेना छिञ्चु–जाजरकोट र सल्ली बजार–चौरजहारी सडकको निर्माण पूरा गर्न सफल भएको थियो । -रामचन्द्र न्यौपाने/ /रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।