ताजा अपडेट »

एकै विद्यालयका ३९ विद्यार्थीलाई कोरोना , तीन वडा सिल गर्ने तयारी

बुधबार, ०८ बैशाख २०७८, ११ : ०२
6 Shares

बागलुङ । जनताधन माविका थप ३९ विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मंगलबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बागलुङले यस अघि सोही विद्यालयका दुई शिक्षक र एक विद्यार्थीमा कोरोना देखिएपछि ९८ जना विद्यार्थी र शिक्षकको स्वाब परीक्षण गर्दा ३९ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

सङ्क्रमितहरुलाई होम आइसोलेसनमा बस्न अनुरोध गरिएको जानकारी दिए । शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण भएपछि आइतबारदेखि नारायणस्थान क्षेत्रका विद्यालयमा पठनपाठन बन्द गरेको बागलुङ नगरपालिकाका नगर शिक्षक अधिकारी डण्डापानी शर्माले जानकारी दिए । धेरै संख्यामा विद्यार्थी कोरोना सङ्क्रमित भएपछि नगरपालिकाले बलेवा क्षेत्र बानपा–१२, १३ र १४ नम्बर बडालाई सिल गर्न जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई अनुरोध गरेको छ ।

कोरोना सङ्क्रमण समुदायमा फैलने त्रास बढेपछि तीन वटा वडालाई तत्काल दश दिनको लागि सिल गरी सङ्क्रमितको सम्पर्कमा रहेकाको खोजी र उपचार गर्न सहज हुने नगर शिक्षा अधिकारी शर्माको भनाइ छ । वडामा सार्वजनिक सेवा तथा यातायात सेवा बन्द गरी कोरोना नियन्त्रणको प्रयास गर्न अहिले बानपा १४ र १३ नम्बर वडाको बैठक जारी छ । बानपा १२ ले बुधबार बैठक राखेर आवश्यक निर्णय गर्ने बताइएको छ । जनताधन माविमा शुक्रबारदेखि नै पठनपाठन बन्द गरिएकाे छ । -नवीन शिशिर विक/गोरखापत्र अनलाइन

रासस
लेखकको बारेमा
रासस