ताजा अपडेट »

विदेश बसेरै श्रम स्वीकृति, कल्याणकारी कोष र बिमा रकम अनलाइनबाट

बुधबार, ०४ असार २०७६, १७ : ०९
8 Shares

असार ४, काठमाण्डौं । वैदेशिक रोजगार विभागले विदेशस्थित नेपाली दूतावासबाटै पुन: श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाउने भएको छ । विदेशमा रहेका नेपाली कामदारले सम्बन्धित देश हेर्ने कुटनीतिक नियोगबाट बढीमा दुई पटक श्रम स्वीकृति लिन सक्ने गरी तयारी भैरहेका विभाको महानिर्देशक भिष्मकुमार भुषालले जानकारी दिए ।

श्रम स्कीकृति लिनका लागि बुझाउनुपर्ने कल्याणकारी कोष र बिमा बापतको रकम अनलाइनबाट भुक्तानी गर्ने व्यवस्था मिलाउने विभागको तयारी छ । यसभन्दा पहिले पुन: श्रम स्वीकृति लिनको लागि नेपालमै आउनुपर्ने बाध्यता थियो । नयाँ व्यवस्थाले विदेशमा गएका कामदारलाई सजिलो हुने विश्वास लिइएको छ ।

यस प्रयोजनका लागि कल्याणकारी कोषमा दाखिला गर्नुपर्ने रकम नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त अनलाइन सेवा प्रदायक कम्पनीबाट भुक्तानी गर्न सक्ने गरी विभागको अनलाइन प्रणालीबाट सफल परीक्षण भइसकेको छ ।

‘अनलाइनतर्फको परीक्षण गरिसकेको छ भने बिमातर्फको परीक्षण गर्न बाँकी छ’ महानिर्देशक भुषालले भने, ‘बिमा समिति र कुटनीतिक नियोगले स्वीकृति दिएपछि यो व्यवस्था पूर्ण रुपमा लागू गरिनेछ ।’

यो व्यवस्था लागू भइसकेपछि वैदेशिक रोजगारीमा जाने कामदारले बुझाउनुपर्ने बिमा वापतको रकम सबै बिमा कम्पनीबाट भुक्तानी गर्न सकिने गरी खुल्ला गरिनेछ । यसभन्दा पहिले सीमित बिमा कम्पनीमा मात्रै भुक्तानी गर्न मिल्ने व्यवस्था थियो ।

बिमा वापतको रकम अनलाइन भुक्तानी सेवा स्वीकृति लिएका सेवा प्रदायक कम्पनी जस्तै खल्ती, ई सेवा, प्रभु पे, कनेक्टर आईपीएस लगायतबाट गर्न सकिने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।